रुसमा आतंकवादी हमलामा मारिनेको संख्या १३३ पुग्यो, हमलाको नेपालले गर्यो निन्दा

काठमाडौं । मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या १३३ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन्। रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न र उनीहरूका सहयोगीमाथि कडा कारबाही गरिने बताएका छन्। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्। अधिकारीहरूले आक्रमणमा संलग्न चारजनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ परेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चार जना प्रत्यक्ष संलग्न भएको बताइएको छ। एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए।

किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

रुसी अधिकारीहरूका अनुसार कैयौँ शवहरू क्रोकुस सिटी हलभित्र भेटिएका थिए। बन्दुकधारीहरूको आक्रमणका क्रममा ठूलो आगलागी हुँदा हलको छानो खसेको थियो। अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएका छन्। दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ। नेपालले पनि मस्कोमा भएको आक्रमणको निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै रुसी जनता र सरकार, घटनाका पीडित र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here