क्यानको कुल बजेट ४६ अर्ब ९६ करोड, राष्ट्रिय गौरवका योजनाको लागि २३ अर्ब

काठमाडौं, २ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०७६/७७ को लागि नीति, बजेट तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

क्यानले चालु वर्षका लागि ४६ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

क्यान सञ्चालक समितिको कार्यालयमा भएको कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले चालु आवको लागि क्यानले विनियोजन गरेको रकमको बारेमा जानकारी दिएका हुन् ।

राष्ट्रिय गौरवको योजनामा २२ अर्ब ७३ करोड

बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा निजगढ विमानस्थलको लागि मात्रै रु. २२ अर्ब ७३ करोड रकम विनियोजन गरिएको छ ।

त्यसमा पनि निजगढ विमानस्थलको लागि रु. १ अर्ब रकम विनियोजन गरिएको छ भने बाँकीका लागि २१ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको महानिर्देशक पोख्रेलले बताए ।

निजगढ विमानस्थलको लागि विनियोजन गरिएको रकम त्यहाँको बस्ती व्यवस्थापनको लागि रहेको महानिर्देशक पोख्रेलले बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ६ अर्ब २९ करोड

क्यानले विनियोजन गरेको आव २०७६/७७ को बजेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मर्मत, सुधार तथा विकासको लागि ६ अर्ब २९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रस्तुत बजेट विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्न तथा बुटिक एरपोर्टको रुपमा विकास गर्नको लागि खर्च गरिने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here