प्रभु बैंकको सहकार्यमा बागलुङ नगरपालिकाले ल्यायो ‘नगरकी छोरी’ कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडको सहकार्यमा बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ । छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरूलाई सामाजिक एवं आर्थिक रुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ उक्त आइतबारदेखि उक्त कार्यक्रमको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।

नगरपालिकाको प्रशासकीय अधिकृत हरिदत्त कँडेल र बैंकका बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। बागलुङ नगरपालिका वडा नम्बर २ की अदिति क्षेत्रीको नाममा एक मुद्दती खाता खोली सो कार्यक्रमको शुरुवात गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सो सम्झौता बमोजिम २०८० असार १ गते पश्चात् बागलुङ नगरपालिका क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिने बैंकले बताएको छ।

नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा नगरपालिकाको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिनेछ । साथै बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरूले ईच्छानुसार थप रकम जम्मा गर्न सक्नेछन् । २० वर्ष पछी सम्बन्धित व्यक्ति र छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याइएको बैंकले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here