ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्। क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी आएको छ । तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन्।

एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो।

भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको थियो। तर पछि चेतावनी फिर्ता गरियो। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्। भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ। ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ।

ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्। जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्। राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ। स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here