धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’मा

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्टमा परेको छ । छनोट समितिले चिरन्जीवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो ।

छनोट हुनेमा नेपाल स्टक एक्सचेन्ज (नेप्स) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ, धितोपत्र बोर्डमै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ छन्। वित्तीय संस्थाका सञ्चालक सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डमा हाल निमित्त अध्यक्ष नवराज अधिकारी पनि छन्। छनौटमा परेका पाँच जनाबाट उत्कृष्ट तीनको नाम मन्त्रिपरिषदको कार्यालयमा पठाउने छ ।

मन्त्रिपरिषदले तीनमध्ये एक जनालाई धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी दिनेछ । अध्यक्ष पदका लागि १९ जनाले अर्थ मन्त्रालयमा निवेदन पेश गरेका थिए । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति सदस्यहरुमा अर्थ सचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुपमा उदय निरौला छन् ।

यसभन्दा पहिलाका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएकाले केहि महिनादेखि बोर्ड अध्यक्ष पद खालि हुँदा त्यहाका महत्वपूर्ण कामहरु अघि बढ्न सकिरहेका छैन भने हमालको कार्यकालमा विवादित बनेको नयाँ स्टक एस्क्चेञ्जको अनुमति लगायतका कामहरु पनि अब आउने अध्यक्षले अघि बढाउन पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here