अन्तुडाँडामा सूर्योदयको आकर्षण

सुदेव पौडेल
इलाम, ४ असोज । तराईको प्रचण्ड गर्मी छल्दै झण्डै ५० किलोमिटर यात्रा पछि पुगिन्छ, इलामको अन्तुडाँडा । तराईको गर्मी छल्न र सूर्योदयको मनोरम दृश्य हेर्न यहाँ टाढा टाढा बाट पर्यटक आइपुग्छन् । पर्यटकको आकर्षणकै कारण पछिल्ला वर्ष अन्तुडाँडाको पहिचान नै बदलिएको छ ।

इलामको सूर्योदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ होमस्टे र चार पाँचवटा होटेललाई पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । यहाँ आउने जो कोही पर्यटकको पहिलो आकर्षण नै सूर्योेदय हो ।

भरतपुर महानगरपालिका–१८ घर भई विगत डेढ दशकयता पोखरा बस्दै आएका लक्ष्मण कँडेलले अन्तुडाँडा आइपुग्दा यहाँको दृश्यले आफू निकै प्रभावित भएको बताए । हरिया चिया बगान, आकर्षक देखिने सूर्योदय, वरपरका पहाडी दृश्य सबै हेर्नै पर्ने स्थल भएको उनको प्रतिक्रिया छ ।

समुद्री सतहबाट करीब दुई हजार ३०० मिटर उचाइमा रहेको अन्तुडाँडामा चिटिक्क परेका चिया बगान, चिया बगानभित्र कटेज, पोखरी, लहरै मिलेका धुपिसल्लाका रुख हेर्नलायक दृष्य हुन् ।

पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी होटेल तथा होमस्टेमा स्थानीयले लगानी बढाउँदै गएको स्थानीय पर्यटन व्यवसायी एवं होमस्टे एशोसिएशनका केन्द्रीय सदस्य एकराज घिमिरेले बताए ।

यहाँ वर्षभर पर्यटक आउने गर्छन । यहाँबाट झण्डै १५ मिनेटसम्म सूर्योदयको मनोरम दृय अवलोकन गर्न सकिन्छ । यस स्थानबाट भारतको दार्जलिङ घुम पहाडलगायत रमणीय दृश्य पनि नियाल्न सकिन्छ । श्रीअन्तु परिसरमा रहेको सुन्दर ताल यहाँको अर्को आकर्षण हो ।

चिसो हावापानीका कारण गर्मी छल्न र दृश्यावलोकन गर्न भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको अर्का पर्यटन व्यवसायी रत्न खड्काले बताए। नेपालको पर्यैटकीय विकासमा श्रीअन्तुले महत्वपूर्ण योगदान दिएको उनको धारणा छ ।

सूर्योदयका लागि झिसमिसेमा अन्तुडाँडा उक्लने पर्यटकलगायत तराईका समथर फाँटहरू अनि भारतीय शहरमा बलेको बत्तीको झिलिमिलीसमेतको अनुभव गर्न पाउँछन् ।

अन्तुले पर्यटकीयरुपमा २०४०÷४१ सालदेखि चासो र चर्चा पाए पनि देशको द्वन्द्वात्मक अवस्था पछि मात्रै गति लिएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए ।

विसं २०५२ देखि पेइङ गेष्टका रुपमा यहाँ स्थानीयले होमस्टे शुरु गरे पनि होमस्टेका रुपमा व्यवसायले गति भने २०५७ कात्तिक २२ देखि लिएको उनले जानकारी दिए ।

पोखरामा पर्यटन व्यवसायमा क्रियाशील हाइग्राउन्ड एडभेन्चर नेपालका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जन अन्तुडाँडाको धेरै पर्यटकीय सम्भावना रहेको बताउछन् ।

सूर्योदय हेर्न इलामको अन्तुडाँडासहित पोखराको सराङकोट, म्याग्दीको पुन हिल पर्यटकका आकर्षण बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here