अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ ।

यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि २०८० चैत २३ गते १३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । यस्तै, आजका लागि १ अमेरिकी डलरको खरिददर १३३.२३ रुपैयाँ तोकिएको छ ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् । पछिल्लो समय अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको हो । यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here