९ महिनामा साढे १० खर्ब व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो

काठमाडौं । नेपालले चालु आर्थिक बर्षमा साढे १० खर्ब भन्दा बढी व्यापारघाटा व्यहोरेको छ । गत साउनदेखि चैत मसान्तसम्म ९ महिनामा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आयात र निर्यात दुवैमा आएको कमीले व्यापार घाटामा कमी आएको छ ।

सो अवधिमा नेपालको आयात र निर्यात दुवै घटेको छ । ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छन् । जुन गत आवको सो अवधिको तुलनामा २ दशमलव ८४ प्रतिशत कम हो । त्यस्तै १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवको ९ महिनामा नेपालबाट हुने निर्यातको व्यापार ३ दशमलव६६ प्रतिशतले घटेको हो ।

यता नेपालले गर्ने व्यापारघाटामा पनि गत आवको यहि अवधिको तुलनामा केहि गिरावट आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार गत आवको पहिलो ९ महिनामा १० खर्ब ८३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएको थियो । चालु आवको सोही अवधिमा व्यापारघाटा २ दशमलव७५ प्रतिशतले घटाएर १० खर्ब ५३ अर्ब पुर्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here