के–के हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको १ सम्झौता, ७ समझदारी

काठमाडौं । नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएका छन् । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । होटल सोल्टीको यो कार्यक्रमपछि राजा थानीको भ्रमण टोली बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा प्रस्थान गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा अहिले होटेल द्वारिकाजमा दिवाभोज आयोजना गरेका छन्। दिवाभोजमा सहभागी भएर थानी सिधैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुने कार्यक्रम छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here