तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज तेस्रो लगानी सम्मेलन हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ।

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदै छन्। सम्मेलनका नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ।

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बांग्लादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई)का १३ र जर्मनीका १० जना सहभागी हुँदै छन्।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ। पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन/तीन जना सम्मेलनका लागि नेपाल आउँदै छन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुई जना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ।

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ। आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here