एकैदिन ३१ हजारले अवलोकन गरे स्टक क्लियरेन्स मेला, सस्तोमा सामान किन्नेको घुइँचो

काठमाडौं, ५ असोज । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि सुरु भएको स्टक क्लियरेन्स मेलामा शनिबार मात्र ३१ हजारले अवलोकन गरेका छन् ।

मेलामा सस्तो मूल्यमा सामान किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको चौथो दिनसम्ममा ८३ हजारले अवलोकन गरेका छन् । मेलामा तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाएका थिए ।

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसनले जनाएको छ ।

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ संचालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पाटी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने बताईएको छ ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ ।

नेपाल चेम्बर अफ कमर्शले प्रवद्धन गरेको एक्स्पो आइतबारसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here