राजनीतिक संरक्षणले ठेकेदारको दादागिरी, प्रम ओली भन्छन् – बेइमान ठेकेदारले देश डुबाए

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संरक्षणका कारण ठेकेदारले विकास आयोजनालाई दुहुनु गाई बनाएको बताएका छन् ।

‘राजनीतिक संरक्षणको आडमा ठेकेदारको दादागिरी चलिरहेको छ भने त्यसको ठूलो मूल्य देश र जनताले चुकाउनु परिरहेको छ,’ राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने ।

उक्त समितिको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।
राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भएपनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले बताए ।

समयमा काम सम्पन्न नगर्ने ठकेदारलाई अब मौका नदिइने उनको भनाई छ ।

अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूचि वा डार्क लिस्टमा राख्नुपर्ने ओलीले बताए ।

‘त्यस्ता ठकेदारका कारण देश कति समय पछाडि प-यो ? बाटो घाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि प¥यो ?’ उनले बैठकमा उपस्थित अन्य मन्त्री तथा सचिवहरुलाई प्रश्न गरे ।

कुखुराको माऊले पखेटामुनि संरक्षण दिएपछि चीलले समेत चल्ला समात्न नसक्ने दृष्टान्त दिंदै प्रधानमन्त्रीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने बताए ।

‘जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ वहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नै पर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ,’ प्रम ओलीले भने ।

जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै उनले बताए । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,’ उनले भने ।

उक्त अवसरमा प्रधानमन्त्री र योजना अयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, राष्ट्रिय पुननिमार्ण प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली एवं लगानी वोर्डका प्रमूख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेबीच कार्य सम्पादन सम्झौता पनि सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here