बेइजिङ बागबानी प्रदर्शनीमा नेपाल दिवस मनाइयो, प्रदर्शनी अझै एक वर्ष चल्ने

काठमाडौं, ६ असोज । बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ मा आइतबार नेपाल राष्ट्रिय दिवस मनाइएको छ ।

नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको आयोजक विज्ञ समूहले संयुक्तरुपमा सो कार्यक्रम आयोजना गरेका हुन् ।

सो अवसरमा बोल्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पृथ्वीको कुल भूभागमध्ये सानो अंशमात्र ओगट्ने भएपनि नेपालमा जैविक विविधताको विपुल सम्पदा रहेको बताए ।

नेपालको अनुपम साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक विशेषताको चर्चा गर्दै उनले आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आमन्त्रण पनि गरे ।

अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी बेइजिङ २०१९ का प्रमुख इन्जिनियर झाङ लानियनले यस विश्वकै हालसम्मको विशालतम वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बाटिका नामक नेपाल पभिलियनको विशेष स्थान रहेको जानकारी दिए ।

उनले प्रदर्शनी अवधिभरि नेपालको सक्रिय सहभागिताको सराहना पनि गरे ।

प्रदर्शनीका आयोजक एवम् विभिन्न देशका प्रदर्शकहरु, विदेशी कूटनीतिक प्रतिनिधिहरु, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारण सहित २ सय ५० सय जना भन्दा बढी सहभागी रहेको सो कार्यक्रममा कुमारी स्वागत नृत्यका साथै विविध नेपाली नृत्यसहितको साँस्कृतिक कार्यक्रम र नेपाली खानाको व्यवस्था गरिएको थियो ।

प्रदर्शनीस्थलमा रहेको लुम्बिनी शान्ति बाटिका राष्ट्रपति विद्यादेवी भण्डारीले २८ अप्रिल २०१९ मा उद्घाटन गरेकी थिइन् । सो प्रदर्शनी अक्टोबर २०१९ सम्म जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here