काठमाडौं । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न शुरु गरिएको हो ।
बागलुङपानी–घलेगाउँ जोड्ने १० किलोमिटर कालोपत्र र घलेगाउँदेखि मर्स्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किलोमिटर सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ । कान्छाराम कन्सट्रक्सनले २०७६ सालमा ३६ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सडक आयोजना २०७८ सालमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।
दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताउनुभयो । एक किलोमिटर पाँच सय मिटर दुईतर्फी र सात सय मिटर एकतर्फी कालोपत्र भइसकेको उहाँको भनाइ छ । घलेगाउँसम्म सडक चौडा, नाली, पर्खाल निर्माणलगायतका काम सकेर सब–बेस राखिसकिएको निर्माण कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार पहिरो प्रभावित तोरीबारी–खेनगी खण्डबाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी भइरहेको छ । घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताए ।
सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका–३ का वडाध्यक्ष आशवीर गुरुङले बताए । स्मार्ट गाउँले चिनिने घलेगाउँ र छिमेकी भुजुङ गाउँको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उनको भनाइ छ ।
सडकलाई समयमै पूर्णता दिन वडाले समन्वय र सहजीकरणको काम गरिरहेको वडाध्यक्ष गुरुङले बताए । यसअघि जिल्ला सदरमुकाम बेसीसहरदेखि बागलुङपानीतर्फ तीन किलोमिटर सडक कालोपत्र भइसकेको जनाएको छ । यस वर्ष थप १४ करोड रुपैयाँ बजेटको ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो सडकले पश्चिम लमजुङको विकास र उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।