एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित ‘सधैं अन’ योजना, यस्ता छन् सुविधा

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित ‘सधैं अन’ योजना सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रममा बीच एनसेलले आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो ।

यस योजनामा ग्राहकले अनावश्यक रुपमा मोबाइलको ब्यालेन्स काटिने समस्या झेल्नु नपर्ने कम्पनीले दाबी गरेको छ । ‘सधैं अन’ नामक योजनाअनुसार ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी सधैं अन राखेर सशक्त बनाउन र डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको एनएसेलले बताएको छ ।

‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरूजस्तै किनमेल, यात्रा बैंकिङ कारोबारलगायत कार्यहरु अनलाइनबाटै गर्ने भए‌कोले उनीहरूलाई ‘सधैं अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ,’ एनसेनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मानकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्‍याउनु योजनाको अवधारणा रहेको उनले बताए ।

अहिले नेपालका मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताहरुले इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिने समस्या छ । यहि समस्यालाई एनसेलले समाधान गर्न चाहेको कायुमोभको भनाइ छ ।

उक्त योजनामा ५ दर्जन भन्दाबढी डेटा प्याकहरूलाई २० वटामा झारेको कम्पनीले बताएको छ । वास्तवमा यो योजनाको ठूलो उद्देश्य भनेको नेपाली ग्राहकलाई फाइभजीका लागि तयार पार्नु रहेको कम्पनीको भनाइ छ ।

‘फाइनजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छु भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ। ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ। हामी चाहन्छौं भारतपछि नेपाल फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्। तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोवाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईको डेटा सधै अन हुनुपर्छ,’ कायुमोभले भने ।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । उक्त स्थानलाई २०२६ सम्मा ५० औं स्थानमा ल्याउने योजना रहेको एनसेल बताएको छ ।

साथै, नेपालमा एक दिनमा १० मध्ये २ जनाले मात्र डाटा प्रयोग गर्ने गरेको एनसेलले बताएको छ । औसत प्रतिग्राहक प्रतिमहिना डाटा खपत मात्र ४ जीबी रहेको कम्पनीको भनाइ छ ।

‘सधैं अन’ मा के छ ?

एननेलको सधैं अनअन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु सञ्चालनमा ल्याएको छ। यसमा २ दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको १४९९ रुपैयाँ पर्ने सम्मको विभिन्न प्लान छन् । यसका साथै सधैं अन सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि पाउने कम्पनीको भनाइ छ ।

हरेक प्लानमा डेटा, अल नेपाल कल टक र अल नेपाल एमएमएसको बन्डलिङ छ । प्लानहरु ग्राहकलाई विद्यमान शुल्कभन्दा २ गुणा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here