काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ ।
ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेकाे भन्दै निगमले यस्तो निर्देशन दिएको हो ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गरेर विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ।
निगमले ग्यास उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेतालाई नियन्त्रण र नियमन गर्न यसअघि पनि पत्राचार गरेको जनाएको छ ।
ग्यास खरिद गर्दा उपभोक्ता ठगिने र कालोबजारी हुने जोखिम न्यूनीकरण र बजारमा पारदर्शिता कायम गर्न निगमले मूल्य अभिवृद्धि कर (भ्याट) बिल अनिवार्य गरेको हो ।
