दुई दिनमा २० हजारले लिए दशैँको अग्रिम टिकट

फाइलफोटो

काठमाडौं, ७ असोज । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् ।

आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले अग्रिम टिकट लिएका जानकारी दिए ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए ।

टिकट बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म वितरण गर्ने गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए ।

‘दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ’ उनले भने । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here