जीडीपीमा प्रदेशको योगदान: बागमती प्रदेशको सबैभन्दा बढी, कर्णालीको कम

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकअनुसार चालु आर्थिक वर्षको मुलुकको कुल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेशको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जीडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्यांक कार्यालयले गरेको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ । ‘गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ,’ तथ्यांक कार्यालयले भनेको छ ।

चालु आर्थिक वर्ष २०८०-८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब हुने अनुमान गरिएको छ । देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आर्थिक वर्षश्यक नीति निर्माणका लागि तथ्यांक कार्यालयले यस्तो तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादनबाट आर्थिक वृद्धिदर अनुमान गरिन्छ ।

चालु आर्थिक वर्षको प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ ।

त्यस्तै, कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१, मधेशको तीन दशमलव ७८, बागमतीको तीन दशमलव ९६ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here