चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।
‘शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ,’ उनले भने, ‘थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।’
माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिएको छ ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । ‘निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ,’ उनले भने ।
मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुन: स्काभेटरले काम गरिरहेको उहाँले जानकारी दिए ।
मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए ।
यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुवै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।
