८ मंसिर, काठमाडौं । रोमानियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न युवा, श्रम तथा रोजगार मन्त्रालयले सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँगको समन्वयमा आवश्यक पहल अघि बढाएको छ।
मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरी रोमानियामा कार्यरत नेपाली श्रमिकका गुनासो सम्बोधन, समस्या समाधान तथा श्रमिकको हकहित र अधिकार संरक्षणका लागि आवश्यक पहल अघि बढाएको छ।
वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकहरूसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूले भोगिरहेका समस्या तथा गुनासोबारे जानकारी लिइरहेको छ। ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट श्रमिकहरूले उपलब्ध गराएका सूचना तथा गुनासोका आधारमा आवश्यक पहल अघि बढाइएको छ।
यसैबीच, वैदेशिक रोजगार विभागले रोमानियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त ९म्यानपावर० सहित वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको भर्नासम्बन्धी प्रक्रिया तथा क्रियाकलापहरूको अनुगमन तथा छानबिन सुरू गरेको छ।
श्रमिकबाट प्राप्त गुनासो, सूचना तथा प्रारम्भिक तथ्यका आधारमा सम्बन्धित वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको भूमिका, श्रमिक छनौट तथा भर्ना प्रक्रिया, सेवा शुल्क लगायतका विषयमा अध्ययन भइरहेको छ।
अनुगमनबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा आवश्यकताअनुसार थप विस्तृत अनुसन्धान अघि बढाइनेछ। गैरकानुनी सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, श्रमिकमाथि अनुचित दबाब, रोजगारीको सर्तसम्बन्धी अनियमितता वा अन्य गैरकानुनी गतिविधि भएको पाइएमा सम्बन्धित संस्था तथा व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।
रोमानियामा नेपाली श्रमिकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले हाल देखिएका समस्याको समाधानसँगै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन वैदेशिक रोजगार प्रक्रियाको नियमन, अनुगमन तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।
