सरकारले ह्वात्तै बढायो फलफूलका विरुवाको भाउ

काठमाडौं, ८ असोज । संघीय सरकारले फलफूलका विरुवाको मूल्यमा भारी वृद्धि गरेको छ । यसअनुसार अब सरकारी नर्सरीबाट फलफूलका विरुवा खरीद गर्नुपरे साविकको तुलनामा दोब्बरभन्दा पनि महंगो पर्ने भएको छ ।

जसका कारण व्यवसायीक खेती गर्नेहरुको लागत बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीका अनुसार मन्त्रालय र मातहतका निकायबाट बिक्रि हुने बिरुवाको मूल्य बढाइएको छ ।

नयाँ मूल्य अनुसार अब २ वर्षसम्म उमेरको स्याउको विरुवालाई ७० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि यस्तो विरुवा ४० रुपैयाँमा आउने गरेको थियो ।

कलमी गरिएको स्याउको विरुवालाई भने १ सय तिर्नुपर्ने भएको छ । साविकमा ३५ रुपैयाँ पर्ने आरुको विरुवाको मूल्य ५० पुगेको छ ।

४० रुपैयाँमा पाइने नास्पातीको विरुवाको मूल्य ७० रुपैयाँ पुगेको छ । ३५ रुपैयाँमा पाइने स्वीट चेरीको मूल्य अब १ सय पुगेको छ ।

कागजी बदामलाई प्रतिविरुवा ६० रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ३५ रुपैयाँ रहेको थियो । सुन्तला, भोगटे, बिमिरो, चाक्सी, निमुवा, जुनारको मूल्य भने ३५ बाट ४५ पुर्याइएको छ ।

दाँते ओखर र चुच्चे ओखरको भाउ ५० बाट १ सय पुगेको छ । आँपको ७५ बाट १ सय, अम्बा २५ बाट ५०, एभोकाडो ४० बाट १ सय, अमला ३० बाट ५०, केरा १५ बाट २५ रुपैयाँ प्रतिविरुवा पुगेको छ ।

रुख कटहर र अंगुर भने क्रमशः ७५ र १ सय रुपैयाँमा पाइने भएको छ । यसअघि सरकारले २०७० साल फागुनमा फलफूलका विरुवाको मूल्य तोकेको थियो । सो मूल्यसूची खारेज भएको समेत मन्त्रालयलेल उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here