वायुयान बढेपछि हवाई यात्रुलाई सहज

काठमाडौं, ८ असोज । सवारी साधनको अग्रिम बुकिङ खुलेको दिन ५ असोजमा नयाँ बसपार्कमा एक प्रकारको मेला जस्तै थियो ।

आम यात्रु दशैंको मुखमा सहजै घर जान पाइने आशमा अग्रिम टिकटको लाइनमा पुगेका थिए । तर, लाइनमा लागेका मध्ये पनि कतिपय रित्तो हात फर्कनु परेको छ । त्यो आम यात्रुको कथा हो ।

तर, त्यसभन्दा केही माथिल्लो आर्थिक हैसियत हुनेहरु भने दशैंको मुखमा आकासबाट घर जान्छन् । त्यसका लागि उनीहरुले पनि अग्रिम टिकट काट्नुपर्छ । किनकी दशैंमा हवाई यात्रुको चाप पनि कम भने हुँदैन ।

तर, पछिल्लो समय वायुसेवा कम्पनीले थपेका ठूला र धेरै सीट क्षमताका वायुयानका कारण भने हवाई यात्रुको यात्रा तुलनात्मक रुपमा सहज बनेको छ ।

बुद्ध एयरले चाडबाडकै मुख पारेर हालै एक एटीआर ७२ जहाज भित्रायो । त्यसअघि श्री एयरलाइन्सले ७० सीट भन्दा माथिका दुई वटा जहाज एक महिनाको अवधिमा भित्राएको थियो ।

लगत्तै अर्को वायुसेवा कम्पनी यति एयरलाइन्सले पनि हालै एटीआर ७२ नै जहाज भित्रायो । यससँगै अहिले तीन वटा ठूला वायुसेवा कम्पनी बुद्ध, यति र श्रीसँग मात्रै डेढ दर्जनभन्दा बढी ठूलो क्षमताका जहाज छन् ।

एकै पटकमा ७२ जनासम्म बोकेर यात्रुलाई सेवा दिन्छन् । जसले गर्दा यो वर्ष तराईका विमानस्थलमा जाने यात्रुलाई टिकटको समस्या नहुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

कम्पनीहरुले यात्रु आकर्षित गर्न यस वर्ष विभिन्न प्याकेज समेत ल्याएका छन् । सामान्यतया यस्तो प्याकेज ल्याउन प्रचलन थिएन् ।

यस वर्ष दशैंदेखि छठ सम्म सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट टिकट खरीद गर्द १० प्रतिशत छूट पाइन्छ ।

अर्कोतर्फ श्री एयरलाइन्सले ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत र ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडामा उडाउने अफर ल्याएको छ ।

यसबाट पनि कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा रहेको प्रष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here