५७ जिल्लामा फैलियो डेंगी, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेंगी रोगको संक्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगी राेगको संक्रमण पनि बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए ।

उनका अनुसार ५७ जिल्लामा ९०४ जनामा संक्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरू भएकाले डेंगीको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे । ‘पानी पर्न थालेपछि डेंगी रोगको संक्रमण पनि बढ्छ,” उनले भने, “त्यसैले संक्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।” गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगी रोगको संक्रमण देखिएको थियो ।

उनका अनुसार यसपटक धेरैको संख्यामा कुनै पनि जिल्लामा संक्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्दछ ।

“गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ, त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ,” उनले भने। डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here