चीनमा बन्यो साढे १३ खर्बको विमानस्थल, प्रतिवर्ष १० करोड यात्रुलाई व्यवस्थापन गर्न सक्ने

बेइजिङ, ८ असोज । चीनले संसारकै ठूलो विमानस्थल सञ्चालनमा ल्याएको छ ।

करीब साढे १३ खर्ब रुपैयाँ (१२ अर्ब अमेरिकी डलर)को लागतमा निर्मित सो विमानस्थल चिनियाँ राष्ट्रपति सि चिनफिङले खुला भएको घोषणा गरिसकेका छन् ।

चीनमा कम्युनिष्ट शासन व्यवस्थाको ७० वर्ष पुगेको अवसरमा डासिङ एयरपोर्ट नामक सो विमानस्थल सञ्चालनमा ल्याइएको बताइएको छ ।

चीनले ज्यादै द्रुत गतिमा निर्माण कार्य गरी पाँच वर्षभन्दा कम समयमा सो विमानस्थल बनाएको थियो ।
चिनियाँ अर्थतन्त्र मन्दीमा जान लागेको र अमेरिकासँग व्यापार युद्ध चलिरहेका बेला नयाँ विमानस्थलले चीनमा पूर्वाधार विकासलाई थप गति दिने अधिकारीहरुको अपेक्षा छ ।

फिनिक्स चरा आकारको डासिङ विमानस्थलले हाल सञ्चालनमा रहेको बेइजिङको क्यापिटल इण्टरनेशनल एयरपोर्टको चाप कम गर्न सघाउने छ ।

नयाँ विमानस्थलको डिजाइन इरानी आर्किटेक्ट जाहा हदिदले बनाएका हुन् । यसले सन् २०२५ सम्ममा प्रतिवर्ष ७ करोड २० लाख यात्रुलाई सेवा दिने छ ।

विमानस्थलको कुल क्षमता भने प्रतिवर्ष १० करोड यात्रु धान्न सक्ने रहेको छ । यहाँ एउटै भवनमा संसारकै ठूलो टर्मिनल भवन छ ।

नयाँ विमानस्थलमा बुधवारदेखि विमानसेवा सञ्चालनमा आउने छ । अन्तरराष्ट्रिय विमानसेवा ब्रिटिश एयरवेज, क्याथे प्यासिफकलगायतले पनि नयाँ विमानस्थलमा उडान गर्ने बताइसकेका छन् ।

चीनले डासिङ विमानस्थल संसारकै व्यस्त विमानस्थल बन्ने अपेक्षा गरेको छ । सन् २०२२ सम्ममा अमेरिकालाई उछिन्दै चीन संसारकै ठूलो उड्डयन बजार बन्दै छ ।

डासिङ विमानस्थल पुरानो क्यापिटल एयरपोर्ट बाट करीब ९० किलोमिटरको दूरीमा छ । क्यापिटल सन् १९५७ मा निर्माण गरिएको थियो । यो सँगै बेइजिङ पनि दुई ओटा अन्तरराष्ट्रिय विमानस्थल हुने लण्डन, न्यूयोर्कसँगै तेस्रो शहर बनेको छ । (एजेन्सी)

(रोयटर्सलाई आधार मानेर उल्लेख गरिएको ७१ खर्ब रुपैयाँलाई पछि सच्याएर साढे १३ खर्ब बनाइएको छ ।) – सम्पादक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here