काठमाडौं । गर्मीयाम सुरु भएसँगै मानव शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छ । खासगरी यो समयमा विभिन्न किसिमका संक्रमणको डर हुन्छ। खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिङ्गा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकोले पनि यो समयमा संक्रमणको जोखिम धेरै हुन्छ।
यसबेला ज्वरो आउने, रुघाखोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्न सक्छ। पाचनयन्त्र कमजोर हुने र खानेकुरा सजिलै नपच्ने भएकोले पनि अरू बेलाभन्दा यो समयमा धेरै समस्या हुन्छ।
गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन् ।
महामारीकै रुपमा फैलने यस्तो रोगमा बैलैमा सावधान अपनाउन सकेन भने धेरै ठूलो क्षति पनि हुन सक्छ । त्यसकारण बेलैमा सचेत हुनु जरुरी देखिन्छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गर्मीमा आउने सिजनल रोगबाट बच्न निम्न उपाय फलदायी हुन सक्छ :
# खानेपानीको मुहान सधै सफा राखौं
# खानेपानी सधै छोपेर राखौं
# खानेपानी सधै उमालेर मात्र पिउने गरौं
# प्रसस्त मात्रामा पानी पिउने गरौं
# पकाएको खानेकुरा तुरुन्तै प्रयोग गरौं
# काँचै खाने फलफुल तथा अन्य खानेकुरा सधै राम्ररी पखालेर मात्र खाने गरौं
# बासी सडेगलेका, झिंगा भन्केका खानेकुरा नखाऔं
# लामखुट्टे हुर्कन, बढ्न नदिन घरवरीपरि पानी जम्न नदिने, कुलर आदी नियमित रुपमा सफा गर्ने
# लामखुट्टेको टोकाईबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने
# झुलभित्र मात्र सुत्ने गरौं, झ्याल ढोकामा जाली राखौं
# दिशापिसाव चर्पीमा मात्र गरौं
# खाना खानु अघि र चर्पीको प्रयोगपछि साबुन पानीले मिचिमिचि हातधुने गरौं
# प्रचण्ड गर्मीमा घर बाहिर नजाऔं, जानै परे सुरक्षित भएर मात्र जाऔं
# हुरीबतास र वर्षातको बेला घर भित्रै सुरक्षित बसौं
# घर वरपर सरसफाई गरी फोहोरमैलाको उचित व्यवस्थापन गरौं
# स्वास्थ जाँच र परामर्शका लागि नजिकको स्वास्थ संस्थामा सम्पर्क गरौं ।
स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय