काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।

महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले उक्त निर्देशन दिएको सूचनामा जनाएको छ ।

‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।’

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ।

‘सर्वोच्चको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नको लागि यो सार्वजनिक सूचनामार्फत् सूचित गरिन्छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here