महसुल नतिर्ने ९ जिल्लाका ३ हजार ७१२ ग्राहहको बिजुली लाइन काटियो

कैलाली । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन बिच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको हो ।

प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका ९ वटै जिल्लाका ३ हजार ७१२ जना ग्राहकको लाइन बिच्छेद गरेको जनाएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन बिच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए ।

उनका अनुसार चालु आवको सो अवधिमा रु ६ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर रु ४ करोड ५० लाख महसुल असुल गरिएको छ । लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताए।

सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट रु ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन बिच्छेद गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ३ हजार ७१२ ग्राहकमध्ये २ हजार ५६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् भने लाइन विच्छेद गरिएका १ हजार १५० ग्राहकले अझै लाइन जडान नगरेको निर्देशक चन्दले जानकारी दिए ।

सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुदूरपश्चिममा हालसम्म ३ लाख ६७ हजार २७० ग्राहक छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा विस्तार हुन नसकेका स्थानमा ठेक्का सम्झौता भएर विद्युतीकरण विस्तारको काम भइरहेकाले हरेक वर्ष प्राधिकरणका ग्राहकको सङ्ख्या पनि बढ्दै गएको निर्देशक चन्दले बताए ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here