सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, अनुमानित लागत तीन अर्ब रुपैयाँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् ।

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौडा –११ थानाभर्‍याङमा ४०० केभी हेटौडा सबस्टेसन निर्माण कार्य केही समय अघि सकिएको हो । ग्याँस इन्सुलेटेड प्रणाली जीआईएस प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटाौडा सबस्टेसन निर्माण सम्पन्न गरी एक साता अघि सञ्चालनमा ल्याइएको हो ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौंडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौंडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here