काठमाडौंका यी स्थानमा एक साता दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना जारी गर्दै बिजुली अवरूद्ध हुने जनाएको हो ।

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुने सूचनामा उल्लेख छ ।

त्यस्तै सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुने जनाएको छ।

उक्त सूचनामा उल्लेख भएअनुसार मंगलबार बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

त्यसैगरी बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गत पाँगा सडक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ भने बिहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै शुक्रबार बानेश्वर वितरण केन्द्रको महाकाल फिडर अन्तर्गत बौद्ध क्षेत्रमा र शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत अवरूद्ध हुने सूचनामा भनिएको छ । तर मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द नहुने सूचनामा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here