ट्यांकर चालक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।

सोमबार सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको छ । चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको थियो ।

सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो ।

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐनअनुसार नियुक्ति दिई नेपाल सरकारले तोकेअनुसारको तलब व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here