काठमाडौंमा ब्लूबुक कीर्ते गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लूबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लूबुक नदिन आग्रह गरेको छ ।

वास्तविक सवारीधनीको ब्लूबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो ।

हालै ब्लूबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका उनले राससलाई बताए ।

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here