‘मेट्रोपोलिस नीति वहस’ मा मेयर बालेनले भने-‘ठूला सहर केन्द्रीत बसाइँसराइले गाउँठाउँका संस्कृति नासिन्छन्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ‘मेट्रोपोलिस नीति वहस’मा आफ्नो धारण राखेका छन् ।

ब्राजिलको साओ पाउलोमा आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा महानगरहरुले ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहन गर्नुपर्ने आवाज उठाएका हुन् ।

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । जसमा मेयर बालेनले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताए ।

‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरुमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ । फरक प्रकृतिको भौगोलिक अवस्थितिमा जनसंख्याको सन्तुलन कायम गराउन मद्दत हुन्छ । यसले सहरी विकास र सुविधा वितरण व्यवस्थापनमा योगदान हुन्छ । यसकारण सहरी नीतिमा महानगरहरुले ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहन गर्नुपर्छ ।’

‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो रहेको उनको भनाइ छ । प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् ।

बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते व्राजिल प्रस्थान गरेका थिए । बैठक सकेर उनी असार ८ गते शनिवार स्वदेश फर्कर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here