अर्नब’ चक्रवातको प्रभाव आजैदेखि

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने मौसमविद्हरुले बताएका छन्। वर्षा भोलिदेखि शुरु भए पनि आज देशका धेरैजसो भागमा बादल लागेर प्रभाव सम्भावना रहेको हाे।

अर्नब’ चक्रवातको प्रभावले आज राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश प्रदेशमा मध्यमसम्मको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार, शुक्रवार र शनिवार देशका विभिन्न ठाउँमा भारि वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहिबार देखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यस्तै शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ । मौसम पूर्वानुमान महाशाखाले लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान तत्काल नकाट्न सल्लाह छ ।

मुख्य बाली धान काटेको भए आजै भित्र्याउन र खेतमै भए अब मौसम खुलेपछि मात्रै काट्न र भण्डारण गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आग्रह गरेको छ ।