बैंकिङ प्रणालीबाट दिनदिनै पैसा तान्दै राष्ट्र बैंक, आज पनि ४० अर्ब खिच्ने

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दिनदिनै अर्बौं रुपैयाँ खिच्न थालेको छ ।

अधिक तरलता व्यवस्थापन गर्न बिहीबार मात्रै ५० खर्ब खिचेको राष्ट्र बैंकले आज निक्षेप संकलन बोलकबोलबाट थप ४० अर्ब रुपैयाँ प्रणालीबाट तान्ने भएको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी असार २१ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ५ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतमा झरेको छ ।

चालु आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here