१७ कात्तिक, काठमाडाैं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजार भन्दा बढी आवेदन प्राप्त भएका छन् । सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको छ ।
यसका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि SMS मार्फत लिंक पठाइने व्यवस्था गरिएको र प्राप्त लिंकबाट तालिममा आवेदन दर्ता गराएका सहभागीहरूलाई मात्र दर्ता गरिएको नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।
सुरुवाती योजनाअनुसार कात्तिक १८ र १९ गते चारवटा छुट्टाछुट्टै सत्रमा प्रतिसत्र ५०० जनाका दरले जम्मा दुई हजार जनालाई तालिम प्रदान गर्ने लक्ष्य बमोजिमको व्यवस्था गरिएको थियो । तर, देशभरका युवाहरूले देखाएको उत्साह र अत्यधिक सहभागितालाई ध्यानमा राख्दै तालिमको पहुँच विस्तार गरी सबै आवेदकलाई सहभागी गराउने निर्णय भएको छ । यसअघि पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।
यो तालिम देशभरका युवालाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन हुन लागेको हो । तालिममा मुख्य रुपमा ChatGPT, Claude लगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी Prompt लेखन, इमेल तथा कार्यालयसम्बन्धी कागजात तयार गर्ने, प्रेजेन्टेसन निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच्नेलगायतका विषयहरु समेटिनेछन् ।
यो कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तहको तालिम भएकाले सहभागीहरूलाई एआई प्रविधिसँग परिचित गराउने र दैनिक जीवन, अध्ययन, रोजगारी तथा व्यावसायिक कार्यमा यस उपकरणको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य छ ।
प्रविधिको तीव्र विकाससँगै बदलिँदो श्रम बजारका लागि युवाहरूलाई तयार गर्न एआई साक्षरता महत्त्वपूर्ण छ । यसर्थ, एआईसम्बन्धी आधारभूत साक्षरतालाई केही सीमित व्यक्तिको पहुँचमा मात्र सीमित नराखी देशभरका युवासम्म विस्तार गर्नु मन्त्रालयको उद्देश्य रहेको छ ।
तालिमका लागि आवेदन दिएका सबै सहभागीलाई आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा मोबाइल फोन वा ल्यापटपबाट सहभागी हुने व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रम प्रत्यक्ष (Live) अनलाइन तालिम भएकाले सहभागीहरूलाई निर्धारित समयमा उपस्थित भई ध्यानपूर्वक कक्षामा सहभागी हुन र सिकाइको अवसरको अधिकतम उपयोग गर्न विनम्र अनुरोध छ ।साथै, तालिममा सहभागी हुने प्रक्रिया तथा अन्य आवश्यक जानकारी प्रतिष्ठानका आधिकारिक माध्यमबाट समेत आवश्यकता अनुसार सार्वजनिक गरिनेछ।
देशभरका युवाहरूले एआई तालिमप्रति देखाएको उत्साहले प्रविधि र डिजिटल सीप सिक्ने ठूलो माग रहेको स्पष्ट भएको छ । यसलाई ध्यानमा राख्दै आगामी दिनमा पनि एआईलगायतका रोजगारमूलक तथा प्रविधिसम्बन्धी तालिमहरूलाई निरन्तरता दिँदै थप युवासम्म पहुँच विस्तार गर्ने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रतिबद्धता रहेको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ING Group Pvt. Ltd. र ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा उक्त निःशुल्क अनलाइन तालिम सञ्चालन गर्दैछ।
