श्रीले थप्यो नयाँ जहाज, ११ पुगे कुल एयरक्राफ्ट

काठमाडौं । श्री एयरलायन्सले ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थपेको छ । अब श्रीसँग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा २४ सिट क्षमताका ट्विन इन्जिन भएका ठूला र ५ सिट क्षमताका दुई सानागरी ८ वटा हेलिकोप्टर छन् ।

८ वटा हेलिकोप्टर र ११ वटा फिक्स्ड विङ जहाजसहित श्रीसँग १९ वटा वायुयान भएका छन् । दुई प्रकारका वायुयानसहित श्री नेपालमा सबैभन्दा धेरै जहाज भएको कम्पनी हुँदै आएको छ ।

शुक्रबार श्रीले नेपाल ल्याएको जहाजलाई नागरिक उड्डयन प्राधिकरणले नाइनएन– एओएम कलसाइन दिएको छ । प्राधिकरणका दर्ता प्रक्रिया सकिएसँगै यो विमान आन्तरिक उडानमा आउने श्रीका प्रबन्धक अनिल मानन्धरले बताए । श्रीले थपको जहाज यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयरर तथा अलास्का एयरले उडाउँदै आइरहेको थियो ।

यो जहाजलाई श्रीका पाइलटहरूले अमेरिकाको अरेगन राज्यको पार्टल्याण्डबाट मिनेसोटाको डुलुथ, क्यानडाको गुजबे, आइसल्याण्डको केफलामिक, चेक रिपब्लिकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै शुक्रबार राति १ बजे काठमाडौं अवतरण गराएका हुन् ।

करिब १० हजार ४ सय माइल दुरी ३३ घन्टाको उडान तथा तीवटा रात्री बिसानपछि जहाज काठमाडौं ल्याइएको हो । आन्तरिक उडानमा रहेका वायुयानमध्ये ड्यास एटलाई आरामदायी जहाजका रुपमा मानिन्छ । ७ वर्षअघि ५० र ७० सिटका सीआरजेबाट आन्तरिक उडानमा प्रवेश गरेको श्रीले हाल काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा र सुर्खेतमा नियमित उडान गर्दै आइरहेको छ ।

बुद्ध एयरले मात्रै उडान गर्दै आइरहेको भरतपुरमा यस्ले अबको कही सातामै उडान थाल्न हालै त्यहा परीक्षण उडान सकिसकेको छ । श्रीको भरतपुर उडानपछि त्यहा बुद्धसँग हुने प्रतिस्पर्धाले यात्रुहरूले ३ हजार रुपैयाँसम्म सस्तो भाडादरको टिकट पाउने श्रीले भनेको छ । हाल भरतपुर उडान ५ हजार रुपैयाँ हाराहारीमा एकतर्फी टिकट रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here