आइडीए बैठकको निष्कर्ष के आयो ?

काठमाडौं । नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले सन् २०२५ देखि २०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरूका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ ।

बैठकले आईडीए मुलुकहरूका लागि तीन वर्षे रणनीतिको खाका तयार पारेको छ । बैठकमा तीन दिनसम्म चलेको प्राविधिक सत्र ९बन्दसत्र० मा आईडीए देशहरूको वित्तीय परिदृष्य सम्बन्धमा गहन छलफल भएको थियो ।

बन्दसत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिको ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीहरूबीच गहन छलफल भएको थियो ।

बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरूका विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रुपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निस्कर्ष निकालेको छ ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समितिसंयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए । ‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो,ु उनले भने, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’

बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ । यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर बृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उनले जानकारी दिए ।

आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ । महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निस्कर्ष छ ।

विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निस्कर्षहरूबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते ९डिसेम्बर १०–११० मा दक्षिण कोरियामा हुने आईडीए २१ को अन्तिम बैठकले तीन वर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ ।

काठमाडौंमा चार दिनसम्म चलेको आईडीए बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । उक्त बैठकको समापन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । यो बैठक विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम रहेको बताइएको छ ।

बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरू नेपालमा आएका थिए । त्यस्तै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी थिए ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो ।

विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो । यसले विकासमा पछि परेका तथा न्यून आय भएका गरिब मुलुकका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा बहुपक्षीय सहायता उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here