मोबाइल आयातमा वृद्धि, ११ महिनामा २६ अर्ब ३३ करोडको भित्रियो

काठमाडौं । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्ष आर्थिक वर्ष २०७९/८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो। गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७ हजार थान मोबाइल भित्रिएको थियो।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ। तथ्याङ्कअनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल भित्रिएको छ।

नेपालमा भित्रिएका यस्ता मोबाइल औषतमा १५ हजार रुपैयाँभन्दा बढीको छ। तर, नेपालमा अवैध बाटोबाट मोबाइल भित्रिएका कारण व्यवसायीहरू बढी मारमा पर्ने गरेका छन्। मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली कार्यान्वयन नहुँदा भन्सार छली बढेको व्यवसायीहरूको माग छ।

नेपाल मोबाइल व्यवसायी महासंघले ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा व्यवसायीसम्म पुग्दा व्यवसायीहरूले प्रहरी प्रशासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै व्यवस्थित गर्न दबाब दिँदै आएको छ।

खुला सिमाना तथा भन्सार छलीमार्फत ५५ सय मोबाइल सेट मासिक रुपमा नेपालमा भित्रने गरेको महासंघको दाबी छ । यसको मासिक भ्यालु ४४ करोड र वार्षिक ५ अर्ब २८ करोड रकम भन्सार छली हुने गरेको महासंघको रेकर्डमा छ।

यसैगरी विदेश जाने नेपालीहरुले आफन्त तथा साथीभाइहरूका लागि ५५ देखि ६० हजार मोबाइल सेट उपहार स्वरूप ल्याइदिएको तथ्याङ्कले देखाउँछ। ती मोबाइलको मूल्य करिब १ अर्ब ८० करोड हुन आउने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here