राष्ट्रिय बीमा संस्थान ५२ वर्षमा , तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा संस्थानमार्फत

क्लाउडपत्रिका
काठमाडौं, १३ फागुन
चालु आर्थिक वर्षबाट करीव तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानबाट कार्यान्वयनमा आएको छ । संस्थानका प्रशासक कवि प्रसाद पाठकका अनुसार संस्थानमा अहिले व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित छन् । यसै वर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा पनि थप गरिएको छ । अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीको बीमासमेत संस्थानले गर्दै आएको उनले जानकारी दिए ।

संस्थानले यसैसाता आफ्नो स्थापनाको ५१ औं वार्षिकोत्सव मनायो । २०२४ साल पुस १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भएको थियो । सोही कम्पनीले फागुन ११ गतेदेखि व्यावसायिक कारोबार शुरु गरेको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप २०२५ साल पुस १ गते संस्थानमा परिणत भई संस्थानले निरन्तर सेवा दिइरहेको छ ।

पहिलो ६ महिनामा चार अर्ब ४१ करोड बीमाशुल्क
बीमा संस्थानको अधिकृत पुँजी रु.५० करोड र चुक्तापुँजी रु.१८ करोड १० लाख २० हजार पुगेको छ । संस्थानले चालु आवको पहिलो ६ मनिामा ४ अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेको संस्थानका प्रशासक पाठकले जानकारी दिए । यस अवधिमा संस्थानले १ अर्ब ५१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । २०७५ पुस मसान्तसम्म संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको उनको भनाइ छ ।

संस्थानको लगानी दीर्घकालिन परियोजनामा
बीमा संस्थानले अहिले दीर्घकालीन परियोजनामा लगानी गर्ने प्रयास थालेको छ । कम्पनीका अनुसार माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा रु. २१ करोड १८ लाख शेयर पूंजी र दुई अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकाश कम्पनीमा १ अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको छ । संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ ।

 

संस्थानमा कसको कति शेयर (प्रतिशत) ?
नेपाल सरकार : २७.७८
नेपाल राष्ट्र बैँक : ५५.५५
नेपाल बैक लिमिटेड : १६.६७

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here