धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

समितिले शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डको अध्यक्ष नियुक्तिको लागि हालसम्म गरेका सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ । समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेकाहरूमध्ये ३ जना अन्तरवार्तामा सहभागी भएका थिएनन् ।

‘सर्टलिस्ट’मा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ अन्तर्वार्तामा गएका थिए भने बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं गएनन्।

त्यसपछि समितिले महान्यायाधिक्तासँग राय मागेको थियो । महान्यायाधिक्ताको कार्यालयले योग्यता पुगेका उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/३/१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको ब्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here