एसईईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

‘परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ’, उनले सामाजिक सञ्जालमा यस्तो भनेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here