काठमाडौंका ३६ अस्पतालले टेरेनन् महानगरको निर्देशन, छैन आफ्नै फार्मेसी

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरूले आनाकानी गरेका छन् ।

महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।

महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि कामपाले दिएको समय सीमा अपुग भएको भन्दै आगामी साउनदेखि सुरु गर्ने जानकारी गराएका छन् ।

अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरूलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ । हाल ५२ अस्पतालमध्ये १६ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् भने ३६ को आफ्नै फार्मेसी संचालन छैन ।

त्यसैगरी, अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्को व्यक्तिका नाममा सञ्चालन भएका अस्पालहरूको सङ्ख्या २८ छ । अन्य बाँकी केहीले फार्मेसी नै सञ्चालन गरेका छैनन् ।

महानगरले गत जेठ २३ गते सार्वजनिक सूचना जारी गर्दै अस्पतालहरूलाई १५ दिनभित्र अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो ।

अस्पतालहरूले अन्य व्यक्तिहरूलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको भन्दै महानगरले सम्बन्धित अस्पताललाई नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here