सत्ता समीकरण फेरिने भएसँगै लगानीकर्ता उत्साहित, उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । दुई पटकसम्म पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार स्थगित भई खुलेको नेप्से अन्त्यमा ४७ अंकले बढेर बन्द भएको हो ।

सत्ता समीकरण फेरिने भएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो । सोमबार राति संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको थियो ।

दुई दलको सहमति अनुसार एमालेले अर्थमन्त्रालय पाउने र एमालेबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने बताइएको छ । पौडेल सेयरबजारमैत्री अर्थमन्त्री भनेर चिनिँदै आएका छन् ।

मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारेबार रकम १ अर्ब ५८ करोड रुपैयाँले बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
आज ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । बैंकिङ, उत्पादनमूलक र व्यापार समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ३३ लाख रुपैयाँ बढीको १ लाख ८१ हजार ६० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै घटेको छ ।

बढ्दोे बजारमा हिमालयन डिस्ट्रीलरीको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ । त्यसैगरी, समाज लघुवित्त ६.९६ प्रतिशत, गुडविल फाइनान्स, नेशनल हाइड्रो, प्रभु इन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा जीआइसी इन्स्यारेन्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here