नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएका छन् । यसअघि विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने जानकारी दिए ।

यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए । आफू वरिष्ठ उपाध्यक्ष उठ्दा उनले चुनावी नारामा यही विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

अध्यक्ष ढकालका अनुसार सोमबार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्को कार्यकालबाट लागू हुने छ । अहिले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ छन् । संशोधित विधानमा एकबाट वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here