शोधनान्तर बचत ४ खर्ब माथि

काठमाडौं । जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर बचत पनि बढाएको छ ।

मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा सवा ४ खर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आवको ११ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा शोधनान्तर बचत ४ खर्ब २५ अर्ब ६७ करोड पुगेको छ ।

आव २०७८–७९ मा २ खर्ब ५५ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति लागतार १४ महिनाको घाटा पछि २०७९ असोजयता लगातार बचतमा छ । गत आव २०८९–८० मा २ खर्ब ९० अर्ब बचतमा रहेकोमा चालु आवको ११ महिनामा नै सवा ४ खर्ब पुगेको हो ।

शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत समेत २ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ ।

गत आव २०७९\८० को सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो । यस अवधिमा पूँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी भई ५ अर्ब ४६ करोड कायम भएको छ ।

यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम भएको थियो । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here