त्रिशूली नदीमा बसको खोजी जारी, गृहका उच्च अधिकारी चार दिनपछि घटनास्थल जाँदै

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ ।

घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको छ ।

गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ । आइतबार ठूलो चुम्बक को प्रयोग गरेर बस खोजिँदै छ ।

हालसम्म बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर, टेलिस्कोपको लगायतको सहायताले खोजी गरिएको थियो । तर पनि बस भेटिएको छैन ।

ती बसमा ५० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान छ । तीन जना पौडिएर बाँच्न सफल भएका थिए । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ । बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भए पनि अरु बेपत्ता छन् ।

हालसम्म तीनवटा शव भेटिएका छन् । एउटा शव भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा र अरु दुईवटा शव नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी किनारमा भेटिएका थिए । ती शव पनि स्थानीयले देखेर सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here