प्रधानमन्त्रीलाई भेट्दै महासंघले के दियो सुझाव ?

काठमाडौं । उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर डेडिकेटेड फिडर तथा ट्रक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन् । लामो समयदेखि यो विवाद रहिरहँदा निजी क्षेत्रको मनोबल बढ्न नसकेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै निर्माण व्यवसायीको भुक्तानीमा भएको आलटाल पनि तत्काल समाधान गर्नुपर्नेमा महासंघले जोड दिएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने बताए । भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग सम्बन्ध सुधारका लागि सरकारले विशेष पहल गर्ने बताए । भेटमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधारण र निजी क्षेत्रलाई दिने सेवामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवम् नीतिगत र व्यवहारगत सुधारमार्पmत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ छ । उद्यम व्यवसाय सम्वद्ध नियामकीय निकायहरुले एक आपसमा समन्वय बढाइ लगानी प्रोत्साहन गर्नेगरी कार्य सम्पादन गर्नु आवश्यक रहेको उनले बताए ।

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले वाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको बताए । आर्थिक वर्षको सुरुमा नै नयाँ सरकार बनेकाले पूँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको उनले बताए ।

अहिले अर्थतन्त्र सम्वद्ध निकायहरुबीचमा समन्वयको अभाव रहेको भन्दै यो सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको उल्लेख गरे । उक्त भेटमा सहभागी महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here