त्रिशूलीमा वेपत्ता बसको खोजी कार्य कहाँ पुग्यो ?

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रुको खोजी १२ औं दिनसम्म पनि जारी छ ।

खोजीमा भारतबाट आएको प्राविधिक टोली समेत खटिएको छ । खोजी कार्यलाई दुर्घटनास्थलको तीन किलोमिटर क्षेत्रमा केन्द्रित गरिएको छ । भारतीय टोली आइतबारदेखि खोजीमा जुटेको हो ।

पहिलो दिन टोलीले नेपाली सुरक्षाकर्मीहरुसँग मिलेर त्रिशूली नदीको सिमलतालदेखि केराबारीसम्म र नारायणी नदीको देवघाटदेखि काब्रेघाटसम्म खोजी गरेको थियो । सोमबार बिहान नौ बजेदेखि दिउँसो २ बजेसम्म सिमलतालदेखि घुमाउने केराबारीसम्म तीन किलोमिटर दूरीमा चार पटक खोजी गरेको थियो । त्यसपछि हिजो नै पाँच बजेदेखि साँझ डेढ घण्टासम्म सोही क्षेत्रमा दुई पटक खोजेको थियो ।

पानीभित्रका वस्तुहरूको आकार आकृति संकेत गर्ने उपकरण सोनारसहित भारतीय टोली खोजीमा खटेको छ । नदीमा मोटरबोटमा बसेर सोनारको सहयोगले टोलीले खोजी गरी रहेको छ । मोटरबोटमा रहेको ल्यापटपमा आउने संकेतहरू उनीहरूले विश्लेषण गरी रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिमलताल घुमाउने क्षेत्रमा खोजी गर्दा भारतीय टोलीले केही शंकास्पद वस्तु रहेको अनुमान गरेको बताएका छन् । मंगलबार बिहान साढे आठ बजेबाट घटनास्थल सिमलताल घुमाउने केराबारी क्षेत्रमै भारतीय टोली एनडीआरएफ र नेपालको टोलीको संयुक्त खोजी सुरु हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here