बक्यौता नबुझाएका ६ उद्योगमा प्राधिकरणले पुनः जोड्यो बिजुली

काठमाडौं । बक्यौता भुक्तानी नगरेका छ वटा उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । गतराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडेको हो । मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको छ ।

नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ४ गते सरोकारवालासँग छलफल गर्दै विद्युत् काटिएका उद्योगमा तत्काल जडान गर्न निर्देशन दिएका थिए । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता प्रिमियम महसुल नतिर्ने छ वटा उद्योगमा बिजुलीको लाइन काटेपछि उद्योगी र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।

ऊर्जामन्त्रीको अध्यक्षतामा हिजो बसेको आठ सदस्यीय सञ्चालक समितिको बैठकबाट भएको निर्णयप्रति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यले असहमति जनाएर नोट अफ डिसेन्ट लेखेका छन् ।
प्राधिकरणले गत असार २५ देखि २७ गतेभित्र जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, हुलास स्टिल्स, जगदम्बा सिन्थेटिक्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले विद्युत् महसुलको बक्यौता नतिरेको भन्दै विद्युत् आपूर्ति काटेको थियो ।

प्राधिकरणका अनुसार विगतमा ठूलो अङ्कमा महसुल मिनाहापछि पनि ६१ उद्योगले जरिवानासहित आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

त्यसमध्ये जगदम्बा स्टिलको एक अर्ब ६० करोड १८ लाख, रिलायन्सको ७५ करोड ३७ लाख, घोराहीको ५१ करोड, अर्घाखाँचीको ४४ करोड ८६ लाख, जगदम्बा सिन्थेटिक्सको २० करोड र हुलासको १४ करोड रुपैयाँ बक्यौता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here