त्रिशूलीमा बगेका २ बस र ४३ यात्रु अझै वेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गतअसार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएको १२ औं दिन बितिसकेको छ ।

तर, अझै ४३ यात्रुको अवस्था अज्ञात छ । दुई बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए । हालसम्म फेला परेका २५ शवमध्ये १९ शवको मात्र सनाखत हुन सकेको छ । नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न सकेको भने छैन ।

चितवन जिल्ला प्रशासनका अनुसार सडकबाट झन्डै सय मिटर तल त्रिशूलीमा खसेर हराएका बस र यात्रुको खोजीमा २८ असारबाटै नेपाली सेना र सशस्त्र प्रहरीको टोली गोताखोर र उपकरणसहित खोजीमा जुटेका छन् ।

पानीभित्र गएर खोजी गर्ने तालिम प्राप्त जनशक्ति गोताखोर र पानीभित्र हेर्न मिल्ने र गहिराइमा भएका वस्तुहरूको संकेत गर्न सक्ने क्यामेरा र सोनारजस्ता उपकरण नेपाली टोलीले पनि खोजी कार्यमा प्रयोग गरेको थियो । तर घटनास्थलमा बसको कुनै संकेतसम्म फेला परेको छैन ।

सरकारको अनुरोधमा भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)का प्राविधिक नेपाल आएका छन् । एनडीआरफको १२ जनाको टोलीमा चार जना गोताखोर र तीन वटा सोनार क्यामेरा छन् । शनिबार चितवन आइपुगेका भारतीय टोलीले आइतबार बिहानदेखि खोजी गरिरहेका छन् ।

तर भारतीय टोलीले पनि बसको पत्तो पाउन सकेको छैन । घटनास्थलदेखि तीन किलोमिटर तल घुमाउने केराबारीसम्म उनीहरूले पटक–पटक सोनार क्यामेराले नदीभित्र हेरेका छन् । नारायणी नदीको देवघाटदेखि काब्रेघाटसम्म खोजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here